काठमाडौँ । संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलबाट सत्ता साझेदार नेकपा (एमाले) पनि बाहिरिएको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार कार्यदलका संयोजक अशिम शाहलाई पत्र लेख्दै पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन् ।
कार्यदलमा एमालेका तर्फबाट भीष्म अधिकारी सहभागी थिए । सुरुका दिनमा उनी नियमित बैठकमा सहभागी भए पनि पछिल्लो समय अनुपस्थित रहँदै आएको महासचिव पोखरेलले पत्रमा उल्लेख गरेका छन् ।
संविधान संशोधनका विषयमा सरकारको स्पष्ट धारणा नआएकाले कार्यदलबाट बाहिरिने निर्णय गरेको एमालेले जनाएको छ । वर्तमान संविधानका आधारभूत विषयलाई सुदृढ बनाउने र विगतका कमजोरी सुधार गर्ने उद्देश्यसहित संशोधनप्रति पार्टी सकारात्मक रहेको पत्रमा उल्लेख छ ।
तर, कार्यदलको उद्देश्य र काम-कारबाहीप्रति प्रश्न उठाउँदै एमालेले संविधानका आधारभूत संरचना, संघीय लोकतान्त्रिक गणतन्त्र र संशोधनका विषयमा सरकारको दृष्टिकोण स्पष्ट नभएको आरोप लगाएको छ ।
यसअघि नेकपा, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू पनि कार्यदलबाट बाहिरिइसकेका छन् । ती दलका प्रतिनिधिहरूले संविधान संशोधनमा अघि बढ्नुअघि बहसपत्र प्रक्रिया नै खारेज गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले संविधानको प्रस्तावना, आधारभूत मूल्य-मान्यता र संरचनालाई नचलाउने प्रतिबद्धता स्पष्ट हुनुपर्ने तथा संशोधनका विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग सर्वदलीय छलफल गर्न सरकारलाई आग्रह गरेका थिए ।
गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन लेखन कार्य भने अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कार्यदलले दोस्रोपटक थपिएको समयसीमाभित्रै प्रतिवेदन तयार गरी प्रधानमन्त्रीसमक्ष बुझाउने तयारी गरेको छ । केही राजनीतिक दलका प्रतिनिधि बाहिरिए पनि प्रतिवेदन तयारीको काम नरोकिने सचिवालयले स्पष्ट पारेको छ ।




प्रतिक्रिया