तेहरान । अमेरिका र इरानबिच लगातार दोस्रो दिनसम्म सैन्य आक्रमण जारी रहेपछि विश्वकै महत्त्वपूर्ण समुद्री व्यापार मार्ग स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमन लगभग ठप्प भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल यस जलमार्गमा जहाजहरूको आवतजावत मुख्यतः इरानले स्वीकृति दिएको उत्तरी समुद्री मार्गमा सीमित भएको छ । ओमान र अमेरिकाको समर्थनमा सञ्चालन हुँदै आएको दक्षिणी समुद्री मार्गमा भने अत्यन्त न्यून गतिविधि देखिएको छ ।
ब्लूमबर्ग न्युजका अनुसार खाडी क्षेत्रबाट बाहिरिने अमेरिकी प्रतिबन्ध सूचीमा रहेको एउटा सुपर ट्याङ्कर र इरानी झन्डा बोकेको एउटा कन्टेनर जहाज मात्रै स्ट्रेट पार गरेको देखिएको छ । समुद्री व्यापार विश्लेषण संस्था क्प्लरका तथ्याङ्कअनुसार अमेरिका–इरानबिच स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने अन्तरिम सहमतिपछि तीन सातासम्म दैनिक औसत ३४ वटा जहाजले स्ट्रेट पार गर्ने गरेका थिए । जुन २४ मा यो सङ्ख्या बढेर ५९ वटामा पुगेको थियो ।
तर पछिल्ला सैन्य तनावपछि दैनिक आवागमन उल्लेखनीय रूपमा घटेको छ । युद्धको अवधिमा अधिकांश दिन २० भन्दा कम जहाज मात्रै स्ट्रेट अफ होर्मुज पार गरेको तथ्याङ्कले देखाएको छ । स्ट्रेट अफ होर्मुज विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग हो ।
विश्वमा समुद्री मार्गबाट हुने झन्डै २० प्रतिशत कच्चा तेल र ठुलो मात्रामा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही मार्गबाट ओसारपसार हुने भएकाले यहाँको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजार, ढुवानी लागत र विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ । एजेन्सी



प्रतिक्रिया