रौतहटमा प्रधानमन्त्री बालेनको पुतला दहन


रौतहट । मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुतला दहन गरेको छ ।

बिहीबार स्थानीयले नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर बजेट कार्यान्वयन प्रभावित पारेको आरोप लगाउँदै प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन्।

आन्दोलनका क्रममा प्रदर्शनकारीले ‘मौलापुरको बजेट फ्रिज गराउने बालेन सरकार मुर्दाबाद’, ‘मौलापुरमा हाकिम पठाऊँ’, ‘सम्मानित अदालतको आदेश पालना गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’ लगायतका नाराबाजी गरेका थिए।

स्थानीयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे जिम्मेवारी सम्हाल्न नआएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। तर त्यसयता नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाइँदा नगरपालिकाको प्रशासनिक र वित्तीय काम प्रभावित भएको उनीहरूको भनाइ छ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर शिक्षकले छ महिनादेखि तलब नपाएको भन्दै यसअघि पेन डाउन आन्दोलन गरेका थिए। बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही तथा सरसफाइ कर्मचारी पनि भुक्तानी नपाएको भन्दै प्रभावित भएको स्थानीयको भनाइ छ।