सरकार एक चीन नीति विरुद्ध गएको हो ? :ऐन महर


काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार नेपालले अवलम्बन गर्दै आएको एक चीन नीति विरुद्ध गएको हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा महरले बालेन सरकारले पृथकतावादी नेता दलाई लामाको जन्मदिन मनाउन दिएर नेपालको परराष्ट्र नीतिलाई चुनौती दिएको बताए ।

उनले लामाको जन्मोत्सवका अवसरमा असार २२ गते स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा भएको कार्यक्रमले नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भए देखिको सुमधुर सम्बन्धलाई खलबल्याउने काम गरेको बताए । महरले उक्त राष्ट्रहित विरोधी कामको एमालेले विरोध गर्ने भन्दै त्यसबारे चीनका लागि सात पूर्व राजदूतहरूले समेत विरोध गरेको बताए ।

‘पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी अखडा बनाउन र मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने षडयन्त्रमा लागिरहेको यस घटनाले पुष्टि गरेको छ । के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा उभिएको हो ? के सरकारले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई परित्याग गरेको हो ? यसबारे सरकारले सदनलाई स्पष्ट पार्नुपर्छ ,’उनले भने ।