सरकार उम्लिएको दूध जस्तै हो, धेरै बेर टिक्दैनः केपी ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देश र जनताको हितविपरीत ‘फाँसीवादी’ बाटोमा अघि बढेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरे।

सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै अध्यक्ष ओलीले सञ्चारमाध्यममा आएका सुकुम्वासी बस्तीमा डोजर चलेका र बालबालिका रोएका तस्वीरले नै सरकारको वास्तविक चरित्र छताछुल्ल पारेको बताए।
‘पत्रकार भाइबहिनीहरूले मलाई सरकारको सय दिन कस्तो लाग्यो भनेर सोध्ने गर्नुहुन्छ,’ ओलीले भने, ‘उत्तर त तपाईंहरू आफैँले देखाइरहनुभएको छ। सुकुम्वासी बस्तीमा डोजर चलेका र बालबालिका धरधरी रोएका फोटो तपाईंहरू आफैँले छापिरहनुभएको छ ।’

देशमा निराशा व्याप्त रहेको उल्लेख गर्दै उनले अहिले नेपालीहरूका लागि एकछिन खुसी हुने बहाना अन्तर्राष्ट्रिय फुटबल खेल मात्रै बनेको टिप्पणी गरे। राति खेल हेरुञ्जेल मात्रै मानिसले दुःख बिर्सने अवस्था रहेको उनको भनाइ छ।

वर्तमान सरकार र यसका सञ्चालकहरूमा चरम अहङ्कार बढेको टिप्पणी गर्दै अध्यक्ष ओलीले यसलाई दूध उम्लिएकोसँग तुलना गरे। सरकारको भुइँमा खुट्टा नभएको जिकिर गर्दै उनले भने, ‘एक पाथी अट्ने भाँडोमा दूध तताउँदा उम्लेर पोखिए जस्तै अहिलेको सरकार उम्लिरहेको छ। भाँडो भरिएको देखिए पनि भित्र दूध थोरै मात्र हुन्छ। यो सरकार पनि त्यसरी नै ठेगानमा नरहेर उम्लिरहेको छ, यसको भुइँमा खुट्टा छैन।