काठमाडौं, असार २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत सांकेतिक शैलीमा अभिव्यक्ति दिँदै आफ्नो धैर्यताको परीक्षा नलिन चेतावनी दिएका छन् ।
बमले फेसबुकमा लेखेका छन्, ‘हेर्दै जाऊँ, यो शान्त ज्वालामुखीले क–कसलाई खरानी बनाउँछ। अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो।’
उनले आफू सन् २००४ देखि २२ वर्ष लामो संघर्षपूर्ण सामाजिक तथा राजनीतिक यात्रामा रहेको उल्लेख गर्दै हार्न, सकिन र गुमाउन अब केही बाँकी नरहेको बताएका छन् । स्टाटसमा उनले आफूलाई देश र नागरिकका लागि मर्न तयार, पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्रहीको रूपमा प्रस्तुत गरेका छन् ।
उनको यो सांकेतिक अभिव्यक्तिले सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी र टिप्पणीहरू जन्माएको छ । उनले कसैको नाम उल्लेख भने गरेका छैन तर उनको संकेत रास्वपा भित्रै नै हुनसक्ने धेरैले सहजै अनुमान लगाएका छन् ।



प्रतिक्रिया