गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन वीर अस्पतालमा पुगे गृहमन्त्री गुरुङ


काठमाडौं, असार २५ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ वीर अस्पताल पुगेका छन्। राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका २५ वर्षीय नेपालीको उपचार वीर अस्पतालमा भइरहेको छ।

अस्पताल पुगेर गृहमन्त्री गुरुङले उपचारमा संलग्न चिकित्सकसँग गणेश नेपालीको स्वास्थ्य अवस्था, भइरहेको उपचार प्रक्रिया तथा थप आवश्यक उपचारका विषयमा जानकारी लिएका छन् । साथै उनले उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्। गृहमन्त्री गुरुङले गणेश नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे सरकारले उपलब्ध गराउनुपर्ने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

गणेश नेपाली हाल वीर अस्पतालमा उपचाररत रहेका छन्। उनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूको निगरानीमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ। गणेश पत्नी र करिब तीन वर्षीया छोरीसँग भक्तपुरमा डेरा गरी बस्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार राइड सेयरिङ एपमार्फत सेवा दिँदै आएका मुगुको सोरु गाउँपालिका–६ का नेपालीले चलाएको बा.प्र.०२–०६४ प ३२५० नम्बरको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरी बलले ‘ह्वील लक’ लगाएपछि विवाद भएको थियो।

नेपालीले सडकभन्दा बाहिर मोटरसाइकल राख्दा पनि किन ‘ह्वील लक’ लगाइएको भन्दै प्रश्न गरेका थिए। महानगर प्रहरीसँग विवाद चर्किएपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।