भक्तपुर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले जति सक्दो चाँडो सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएकी छन्। आइतबार खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर त्यहाँ रहेका सुकुम्बासी परिवारसँग कुराकानी गर्दै मन्त्री रावलले यस्तो भरोसा दिलाएकी हुन्।
विगतका जस्तो हचुवाका भरमा नभई कानुनी रूपमा बलियो र पुस्तौँ–पुस्तासम्म पनि कसैले प्रश्न उठाउन नसक्ने गरी लालपुर्जा वितरण गर्न लागिएकाले केही समय लागेको मन्त्री रावलको भनाइ छ।
खरिपाटी पुगेकी मन्त्री रावलले सुकुम्बासीको पहिचानसँगै उपयुक्त जग्गाको समेत पहिचान गर्नुपर्ने भएकाले यो विषय निकै जटिल र संवेदनशील रहेको उल्लेख गरिन्। ‘प्रश्न नउठ्ने गरी काम गर्न केही समय लाग्छ,’ मन्त्री रावलले भनिन्, ‘तर म यति ग्यारेन्टी गर्छु, सुकुम्बासीको हकमा नेपाल सरकारले जति सक्दो चाँडै लालपुर्जा दिनेछ। त्यसमा पनि होल्डिङ सेन्टरमा रहेकाहरूको हकमा सरकारले विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाइसकेको छ।’
जमिन र पहिचानको प्राविधिक काम बाँकी रहेकाले आफूले कुनै निश्चित हप्ता, दिन वा मिति तोकेर भ्रममा राख्न नचाहेको तर सुकुम्बासीले लालपुर्जा पाउने कुरा सुनिश्चित रहेको उनले प्रष्ट पारिन्।



प्रतिक्रिया