काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाह गरेका दिवंगत गणेश नेपालीको पीडित परिवारलाई आर्थिक तथा शैक्षिक सहयोगको घोषणा गरेका छन्। आइतबार मृतक गणेशकी आमालाई प्रत्यक्ष भेटेर नेता बस्नेतले नगद एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
छोरा गुमाएर गहिरो शोक र आर्थिक संकटमा परेको परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले बस्नेतले उक्त सहयोग प्रदान गरेका हुन्।
नगद सहयोगसँगै नेता बस्नेतले मृतक नेपालीकी नाबालिका छोरीको भविष्य सुनिश्चित गर्न उनको शिक्षाको पूर्ण जिम्मा लिने घोषणा गरेका छन्। उनले गणेशकी छोरीलाई प्रतिष्ठित संस्थागत (निजी) विद्यालयमा भर्ना गराई स्नातक तहसम्मको सम्पूर्ण अध्ययन निःशुल्क गराउने प्रतिबद्धता जनाएका हुन्।
रकम हस्तान्तरण गर्ने क्रममा मृतककी आमालाई सान्त्वना दिँदै नेता बस्नेतले भने, “तपाईँको नातिनीलाई हामी स्नातक तहसम्म राम्रै निजी विद्यालयमा राखेर पढाउने व्यवस्था गर्दिन्छौँ। परिवारलाई परेको अरू दुःखसुखमा पनि स्थानीय जनप्रतिनिधिसँग सल्लाह गरेर थप सहयोग गर्नेछौँ।”
पीडित परिवारका लागि बस्नेतको यो मानवीय सहयोग र शैक्षिक प्रतिबद्धताले ठूलो भरोसा दिएको छ।



प्रतिक्रिया