रास्वपा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : कविन्द्र बुर्लाकोटी


काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासप्रति पार्टी दृढ रहेको जनाएको छ ।

सोमबार सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा पार्टीका बुर्लाकोटीले मुलुक निर्माण र लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

प्रमुख सचेतक बुर्लाकोटीले प्रेस स्वतन्त्रता, सूचनाको हक र पारदर्शी संसदीय अभ्यास लोकतन्त्रका अनिवार्य अवयव भएको उल्लेख गर्दै रास्वपाले यी सिद्धान्तहरूलाई व्यवहारमै उतार्न चाहेको स्पष्ट पारे ।

‘हामीले बुझेको र यहाँहरूले बुझेको विषय पनि एउटै रहेछ भन्ने महसुस भयो । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा पारदर्शी संसदीय अभ्यास–यी सबै लोकतन्त्रका आधारभूत अवयव हुन् । हामी यी सबैको पूर्ण अभ्यास गर्न चाहन्छौँ । यी सबैको समुचित सम्मिश्रणबाट बलियो लोकतान्त्रिक मुलुक र सुदृढ लोकतान्त्रिक अभ्यास निर्माण गर्न, हाम्रो दल, हाम्रो मुलुक र हामी सबैलाई त्यस दिशामा अघि बढाउन चाहन्छौँ,’ उनले भने ।