काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह तथा कांग्रेस सभापति गगनकुमार थापाको घरअगाडि शंकास्पद रूपमा राखिएको गाडीको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले यस घटनालाई लिएर प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आलोचना नै सहन नसक्ने हो रु भन्दै प्रश्नसमेत गरेका छन् ।
आङ्देम्बेले लोकतन्त्रमा आलोचना सहन सक्ने क्षमता नै सरकारको शक्ति हुने बताएका छन् ।
‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो । तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ,’ उनले लेखेका छन्।
गेटअगाडि गाडी राख्ने कार्यले स्वतन्त्र प्रेस र प्रतिपक्षलाई दबाबमा पार्ने उद्देश्य देखिएको उनको भनाइ छ ।
‘गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो । यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्यौ भने परिणाम भोग्नुपर्छ’ भन्दै तर्साइएको हो’, उनले भनेका छन् ।
नेता आङ्देम्बेले सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्बासी समस्यादेखि मुगुका गणेश नेपालीले राज्यको दुर्व्यवहारले र सर्लाहीका विवेक मण्डलले बेरोजगारी समस्याका कारण आत्मदाह गरेको घटनालाई लिएर सरकारलाई प्रश्न गर्ने सञ्चारगृह र प्रतिपक्षी दलको नेताको गेट छेक्दैमा जनताको आवाज रोक्न नसकिने बताएका छन् ।



प्रतिक्रिया