मिडिया हाउसको गेटमा राखेको गाडीमा राज्यकै संरक्षण छ : सुमना श्रेष्ठ


काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले मिडिया हाउसको गेटमा गाडी शंकास्पद रुपमा राखेको घट्नालाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएकी छन् । उनले यस्तो प्रवृत्तिलाई ‘क्रोनिजम’ अर्थात् आसेपासे पोस्ने प्रवृत्तिको उदाहरणका रूपमा टिप्पणी गरेकी छन् ।

सोमबार फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै श्रेष्ठले पछिल्ला घटनाक्रमले राज्य र जनताबीचको विश्वासलाई कमजोर बनाइरहेको बताइन् । नेतृत्व तहमा रहेका व्यक्तिहरूले ‘पाठ सिकाउने’ नाममा फरक मत राख्नेहरूमाथि बुलिङ गर्ने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।

नेतृत्वले सबै नागरिकको सेवा गर्नुपर्ने दायित्व बिर्सेर फरक सोच र कार्यशैली भएकामाथि दबाब सिर्जना गरिरहेको उनको आरोप छ । शक्तिमा रहुञ्जेल जे पनि गर्न सकिन्छ भन्ने अल्पकालीन सोचले दीर्घकालीन समृद्धि सम्भव नहुने उनले उल्लेख गरेकी छन् ।