ऐन महरलाई ‘आम्मा कसम तलाई म गोली हानेर मार्छु’ भनेपछि…


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले आफूलाई मार्ने धम्की आउने गरेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गुण र दोषको आधारमा सरकारको समर्थनसँगै विरोध गर्दा आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका हुन् ।

‘सरकारको हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं । सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं । बिडम्बना, सदनमा बोलिरहँदा सरकारको कहिलेकाँही विरोध गरेको केही मान्छेहरूलाई आभाष हुँदो रहेछ । मलाई निरन्तर धम्की आइराखेको छ । फेसबुकमा, फोनमा गोली हानिदिन्छु, मारिदिन्छु भनेको छ’, उनले भने ।

प्रमुख सचेतक महरले संसद् चलिरहेकै बेला पनि आफूलाई सामाजिक सञ्जाल फेबसुकमा गोली हानेर मारिदिने धम्की आएको बताए ।

उनको स्टाटसमा आएको कमेन्ट पढ्दै सुनाए , ‘ऐन महर आम्मा कसम तलाई म गोली हानेर मार्छु भनेर आफ्नो नम्बर पनि दिनुभएको छ, सभामुख महोदय । उहाँले आफ्नो ठेगाना पनि दिनुभएको छ । आजै भन्नुभएको छ ।’