काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । बुधबार सवा १२ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको कार्यसूची र संसद्को बिजनेसबारे छलफल हुने छ ।
कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने भएपछि बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि सारिएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि पेस गरिने छ ।
यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा विभिन्न अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल र अनुमोदनको कार्यक्रम पनि रहेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धीमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त महासन्धि आजै अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धिमाथि पनि छलफल गरी अनुमोदन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया