चिकित्सकहरूको आन्दोलनप्रति संघको ध्यानाकर्षण,जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह


काठमाडौँ । नेपाल चिकित्सक सङ्घले हाल नेपालभरका विभिन्न मेडिकल कलेजहरूमा एमबीबीएस तथा बिडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिएको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै इन्टर्न चिकित्सकहरू लामो समयदेखि विभिन्न समस्याबाट गुज्रिँदै आएको बताउँदै उनीहरूको जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो।

संघका अनुसार इन्टर्न चिकित्सकहरूले अत्यधिक कामको चापमा रहेर सेवा दिँदै आएका छन्, तर उनीहरूले पाउने सेवा–सुविधा तथा भत्ता न्यून रहेको छ। यस्तो अवस्थाले उनीहरूको मनोबलमा असर पार्नुका साथै स्वास्थ्य सेवाको गुणस्तरमा समेत नकारात्मक प्रभाव पार्न सक्ने संघको ठहर छ।

चिकित्सक सङ्घका अध्यक्ष डा.बद्री रिजाल र महासचिव डा.विश्वराज दवाडीले संयुक्त रूपमा जारी विज्ञप्तिमा विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूलाई न्यूनतम सुविधा उपलब्ध गराउनुपर्ने, भत्तालाई एकरूपता दिनुपर्ने तथा वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ। यसअघि पनि सरकारले इन्टर्न चिकित्सकहरूको समस्या समाधानका लागि कार्यदल गठन गरी प्रतिवेदन तयार पारेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेकोमा संघले असन्तुष्टि जनाएको छ।