काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारीले आफूमाथि नेपाल प्रहरीले गरेको दमन र कुटपिटविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक सञ्जालमार्फत अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिएको बताए । कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न जाँदा उनीमाथि प्रहरीले कुटपिट गरेको थियो ।
अन्सारीका अनुसार कीर्तिपुरमा बाढी पीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनलाई र उनका साथीहरूलाई घेरा हालेर कुटपिट गरेको थियो । क्यामेराले नदेख्ने ठाउँमा लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनले उल्लेख गरेका छन् ।
उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्याइएका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको प्रत्यक्ष निगरानीमा आफूमाथि अन्याय भएको उल्लेख गरेका छन् ।
अन्सारीले आफूलाई करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्रतापूर्वक उपचार पाउने हकबाट समेत वञ्चित गर्न खोजिएको बताएका छन् ।
‘म स्वास्थ्य अवस्था सामान्य भएपछि सावर्जनिक रुपमा प्रस्तुत हुने नै छु र म समेतको विरुद्धमा भएको प्रहरीको नियोजित घेराबन्दी सहितको चरम यातनाको विरुद्धमा कानूनी लडाई लड्ने नै छु ,’ उनले भनेका छन् ।



प्रतिक्रिया