गोंगबु एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ


काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलमा युवती मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित माउन्टेन एक्सेल्सिभा होटलको चौथो तलाको ४०४ नम्बर कोठाभित्र रहेको काठको बक्स पलङभित्र साउन ३ गते बिहान करिब ११ बजे एक महिलाको शव फेला परेको थियो ।

घटनाको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

प्राविधिक विश्लेषणका आधारमा मृतकको पहिचान कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनारका रूपमा भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं–३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।