तेहरान, ६ साउन । यदि अमेरिकाले इरानको आणविक र अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गर्यो भने तेहरानले अमेरिका र अमेरिकाका सहयोगीलाई लक्षित गरी आफ्नो आक्रमण बिस्तार गर्ने इरानको मुख्य सैन्य कमान्ड, खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले बुधवार चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले मध्य प्रान्त इस्फहानको पहाड मुनि रहेको इरानी आणविक सुविधामा छिटै आक्रमण गर्ने भनि दिएको धम्कीकोे प्रतिक्रियामा इरानीको यस्तो प्रतिक्रियात्मक चेतावनी आएको जनाइएको छ ।
सैनिक मुख्यालयले संयुक्त राज्य अमेरिकाले इरानको आणविक र संवेदनशील केन्द्रहरूमा आक्रमण गर्ने धम्की कार्यन्यनको चरणमा प्रवेश गरेमा इरानले प्रतिक्रियामा मध्यपूर्व क्षेत्रमा युद्धको विस्तार गरी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरू तथा समर्थकहरूको हितको विरुद्धमा शक्तिशाली आक्रमण गर्ने जनाइएको छ ।
यसैबीच इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले आफ्नो आधिकारिक समाचार पोर्टल सेपाह न्यूजमा विज्ञप्ति प्रकाशित गर्दै इरानी सेनाले कुवेतको अली अल सलेम एयर बेस वरपरको प्रारम्भिक चेतावनी रडार प्रणाली र वरपरका धेरै सुरक्षासँग सम्बन्धित रडारहरू नष्ट गरेको जनाएको छ ।
होर्मुजको जलमार्गमा इरानी सेनाले जहाजहरूलाई लक्षित गरी गरेको आक्रमणको प्रतिक्रियामा आक्रमण गरेको जनाउँदै अमेरिकाले आक्रमणको उदेश्य व्यापारिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई कम गर्ने रहेको जनाएको छ ।
इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य सुविदाहरू लगायत अन्य अमेरिकी सुविधाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणको लहरहरूको साथ प्रतिक्रिया दिएको जनाएको छ ।
गत जुन –१८ मा हस्ताक्षर गरिएको शान्ति सम्झौताको बावजुद पछिल्लो समयमा तनाव बढेको छ जसमा दुई देशहरूले अन्तिम सम्झौतामा पुग्नका लागि ६० दिन भित्र निर्णायक वार्ता गर्ने विषय तय गरिएको थियो । रासस




प्रतिक्रिया