जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००


काठमाडौं । किसानको घरखेतदेखि सदनसम्म अहिले चर्चा बाँदरको छ । बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने भएको छ ।

कार्यालयले जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि दरखास्त खुलाएको हो । सूचना अनुसार कार्यालयले तत्कालका लागि २० जनाको लागि दरखास्त आह्वान गरेको छ भने यसमा थपघट पनि हुन सक्ने जनाइएको छ ।

सूचनामा बाँदर हेरालुमा नियुक्त हुनका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ । उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने र वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने प्रावधान राखिएको छ ।

नियुक्त गरिएका हेरालाले बाँदरको नियमित निगरानी गर्ने, किसानलाई समयमै सूचना दिने, बालीमा भएको क्षतिको अभिलेख राख्ने तथा मानवीय र वातावरणमैत्री तरिकाले बाँदरलाई खेतीयोग्य क्षेत्रबाट प्राकृतिक बासस्थानतर्फ धपाउने जिम्मेवारी पाउनेछन् ।

छनोट भएका हेरालुहरूले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनेछन् ।