सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ


सर्लाही । भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख र एक अधिकृतलाई साढे सात लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।।

पक्राउ पर्नेहरूमा डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन्। उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले साउन ८ गते नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार, बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न भएपछि सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिएको थियो।

टोलीले डिभिजन प्रमुख ढकाल र अधिकृत चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बागमती नगरपालिका वडा नं. १२ स्थित डिभिजन प्रमुखको क्वार्टरबाट नियन्त्रणमा लिएको हो।

खानतलासीका क्रममा उनीहरूको साथबाट घुसबापतको साढे ७ लाख रुपैयाँका साथै स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ र ३ थान मोबाइल फोनसमेत बरामद गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।