काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन् ।
सिन्धुली–खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू बीपी राजमार्ग सडकखण्डमा आउने सम्भावित बाढीलाई मध्यनजर गर्दै रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सम्पूर्ण सवारी साधन सञ्चालन हुँदै आएका प्रहरीले बताएको छ ।
मकवानपुरस्थित कान्ति लोकपथमा वर्षातको कारण सवारी साधन रातिको समयमा चलाउन रोक लगाइएको छ । बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा सडकमाथिबाट ढुंगा माटोसहित लेदो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
बागलुङको जैमिनी नगरपालिका–८, बेलबगर कालीगण्डकी करिडोर सडक खण्डमाथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
अबिरल वर्षाको कारण दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाघु–रामेछाप राजमार्ग सडकखण्डमा पानीको बहाव बढी कटान हुँदा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवा गोसाइकुण्डको कुलुङस्थित पासाङ ल्हामु सडकखण्डमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले बताएको छ ।
रसुवा उत्तरगयाको खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीको बाढीले कटान गर्दा सडक अवरुद्ध भएको छ ।




प्रतिक्रिया