डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल


धनगढी । डा. गाविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रदेशिक अस्पताल लगिएको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।

सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका छन् । परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मापन भएको चिकित्सकले बताएका छन् ।

बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य निरन्तर कमजोर भएपछि चिकित्सकहरूको आग्रहमा उनलाई उपचारका लागि अस्पताल लगिएको सहयोगी अमृत जैशीले जानकारी दिएका छन् ।

उनका अनुसार स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा मांसपेशी बाउँडिने, बोल्न असहज हुने, खुट्टाको शल्यक्रिया भएका कारण हिँडडुल गर्न कठिन हुने तथा शौचालयसम्म जानसमेत समस्या भएको छ ।