न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै २१ लाख ठगी,दुई जना पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारीमा लागि न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देहीका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गाका २९ वर्षीय सुरेश घिमिरे रहेका छन्।

पक्राउ परेकामध्ये राज कुमारले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ३ लाख रूपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले राज कुमारलाई काठमाडौँ तारकेश्वरबाट र सुरेशलाई काठमाडौँ चाबहिल क्षेत्रबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।