दुध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द


चितवन । दुधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ। डेरी र सहकारीहरूले ल्याएको दुध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दुध नआएपछि बन्द भएको हो।

उद्योगले डेरी र सहकारीहरूले ल्याएको दुध निश्चित शुल्क लिएर प्रशोधन गर्दै आएको थियो। उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार विगतका वर्षहरूमा असार र साउनमा मात्र दुध अभाव भई बन्द हुने गरेको भए पनि यस वर्ष वैशाखदेखि नै उद्योग बन्द भएको हो। उद्योगमा डेरी र सहकारीले राखेको नौनी र पाउडर दुध सकिने अवस्थामा पुगेको छ। नौनी खासै मौज्दात नरहेको र पाउडर दुध करिब एक हजार बोरा मात्र बाँकी रहेको उनले बताएका छन्।

विगतका वर्षहरूमा यस समयमा ५०० टन नौनी र करिब ६ हजार बोरा पाउडर दुध मौज्दात हुने गर्दथ्यो। चितवन, मकवानपुर, नवलपरासी र रूपन्देहीलगायत जिल्लाबाट यहाँ दुध आउने गर्दछ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको यो उद्योगले विसं २०७५ देखि डेरी र सहकारीको दुध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दुधको ११३ रूपैयाँ र घ्यू (बटर) को प्रतिकिलो ५५ रूपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ। भदौदेखि दुध आउने प्रतीक्षामा आफूहरू रहेको प्रबन्धक पराजुली बताउँछन्। हाल उद्योगमा ३३ जना कर्मचारी कार्यरत छन्।

विसं २०६४ मा स्थापना भएको यो उद्योग २०७२ सालको भूकम्पपछि बन्द भएको थियो। बन्द हुनुअघि उद्योग आफैँले दुध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले जानकारी दिएका छन्।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार भारतीय सीमा क्षेत्रबाट दुध भारततर्फ गएकाले नेपालमा दुधको सञ्चिति नभएको हो। भारतमा अहिले दुधको अभाव रहेकाले यहाँको दुधले सहजै बजार पाइरहेको छ। जसका कारण प्रशोधनका लागि दुध अभाव भए पनि किसानले भने राम्रो मूल्य पाइरहेको उनले बताएका छन्। रासस