सुरको साधनामा प्रमेन्द्र महर्जनको सात दशक


बागमती, १० साउन । हेटौँडाको हरिकुञ्ज रोडमा एउटा घर छ, जहाँ बिहान–साँझ सङ्गीतका स्वरहरू गुञ्जिरहन्छन् । त्यही घरमा भेटिन्छन्, वरिष्ठ सङ्गीतकार प्रमेन्द्र महर्जन । उमेरले ७० वर्ष नाघिसकेको भए पनि उहाँको उत्साह, ऊर्जा र सङ्गीतप्रतिको समर्पण भने आज पनि युवा कलाकारको जत्तिकै जीवन्त देखिन्छ ।

हेटौँडामा सङ्गीत सिक्न चाहने धेरै पुस्ताका लागि महर्जन केबल एक सङ्गीतकार होइन, एक गुरु, मार्गदर्शक र प्रेरणाका स्रोत पनि हुन् । पाँच दशकभन्दा लामो साङ्गीतिक यात्रामा उनले सयौँ कलाकार जन्माए, करिब २५० गीतमा सङ्गीत दिए र मकवानपुरको साङ्गीतिक इतिहासमा आफ्नै छुट्टै पहिचान निर्माण गरे ।

महर्जनको पुख्र्यौली घर काठमाडौँको कीर्तिपुरस्थित पाँगा हो । तर, कामको सिलसिलामा उनका बुबा हेटौँडा बसाइँ सरेपछि उनको बाल्यकाल यहीँ बित्यो । बुबा धनबहादुर महर्जन विभिन्न नाटकमा अभिनय गर्थे भने आमा नानीमायाले छोराको सङ्गीतप्रतिको रुचिलाई निरन्तर प्रोत्साहन दिए । यही पारिवारिक वातावरणले बालक प्रमेन्द्रलाई सङ्गीततर्फ डो¥यायो ।

उनले साङ्गीत यात्रा २०२६ सालमा भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित सांस्कृतिक कार्यक्रमबाट सुरु भएका थिए । उनी तत्कालीन समयमा हार्मोनियम वादकका रूपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए ।

महर्जन आफ्नो सफलताको श्रेय आमालाई दिन्छन् । “आमाले पैसा खर्च गरेर पनि मलाई विभिन्न मेला–महोत्सवमा लैजानुहुन्थ्यो, त्यही वातावरणले सिक्ने अवसर दियो, आज सङ्गीत क्षेत्रमा केही गर्न सक्नुको आधार नै त्यही प्रेरणा हो”, उनी सम्झन्छन् । त्यतिबेला सङ्गीतका सामग्री निकै महँगा थिए । तर, आमाले आवश्यक वाद्ययन्त्र किनिदिन कहिल्यै पछि हट्नुभएन ।

उनको घरमा त्यसबेला नवकला कुञ्जको कार्यालय भाडामा बसेको थियो । कलाकारहरूको जमघट, नियमित पूर्वाभ्यास र सङ्गीतमय वातावरणले उनको रुचिलाई अझ गहिरो बनायो । साथै, तत्कालीन हेटौँडामा बसोबास गर्ने उस्ताद भोला जोशीसँगको सङ्गतले पनि उनको साङ्गीतिक ज्ञान विस्तार ग¥यो ।

महर्जनले आधुनिक, सुगम, लोकलयमा आधारित, भक्ति, राष्ट्रिय तथा जनवादी गरी करिब २५० गीतमा सङ्गीत भरेका थिए । उनले पहिलोपटक गीतकार नरहरिनन्द खरेलको रचना तथा उत्तम खरेलको स्वर रहेको ‘हे दूर गगनका ताराहरू’ गीतमा सङ्गीत दिएका थिए ।

त्यसपछि उनको सङ्गीत यात्रा निरन्तर अघि बढ्दै गयो । विभिन्न राष्ट्रिय पर्व, मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा उनले सङ्गीत संयोजन गरे ।

उनले नारायण गोपाल, अरुण थापा, दीपक जङ्गम, सुनिता सुब्बा, हिरण्य भोजपुरे, पेमा छिरिङलगायत चर्चित स्रष्टासँग प्रत्यक्ष सहकार्य गर्ने अवसर पनि प्राप्त गरे ।

महर्जनको सबैभन्दा ठूलो योगदान सम्भवतः आफ्ना सिर्जनाभन्दा पनि सङ्गीत सिकाउने अभियान हो । उनले २०३५ सालदेखि अनौपचारिक रूपमा सङ्गीत प्रशिक्षण दिन सुरु गरे । त्यसलाई संस्थागत बनाउन २०४५ सालमा मकवानपुर सांस्कृतिक केन्द्र स्थापना भयो । त्यसअन्तर्गत सङ्गीत विभाग गठन गरी नियमित प्रशिक्षण सुरु गरियो ।

त्यसपछि हेटौँडा मात्र होइन, कमाने, नागसोती, चौघडा, बस्तीपुर, भीमफेदी, अमलेखगञ्ज, पशुपतिनगरलगायत क्षेत्रबाट विद्यार्थीहरू सङ्गीत सिक्न आउन थाले । महर्जनका अनुसार, दुई सयभन्दा बढी सङ्गीतकर्मी उनको प्रशिक्षणबाट तयार भएका छन्, जो अहिले देशका विभिन्न क्षेत्रमा सक्रिय छन् ।

सङ्गीतकार मात्र होइन, महर्जन विभिन्न सांस्कृतिक संस्थाका नेतृत्वकर्ता पनि रहेका छन् । उनी २०५६ सालदेखि करिब साढे चार वर्ष भानुकला केन्द्रमा सङ्गीत प्रबन्धक रहे । विसं २०६४ मा पोखरास्थित डाँफे कला मन्दिरमा वाद्यवादकका रूपमा पनि काम गरे ।

यसबीच उनी हेटौँडा मोडल चारपाते क्लब, मुर्छना सङ्गीत समूह, सङ्गत समाज मकवानपुरलगायत संस्थाको अध्यक्ष बने । राष्ट्रिय कलापरिषद् तथा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानजस्ता संस्थामा उनले सल्लाहकारको भूमिका निर्वाह गरेका छन् ।

सांस्कृतिक क्षेत्रमा मात्रै होइन, ज्येष्ठ नागरिकका अधिकारका पक्षमा पनि उनी सक्रिय छन् । हाल उनी ज्येष्ठ नागरिक वडा मञ्च, हेटौँडा–२ का संयोजक हुन् ।

लामो साङ्गीतिक योगदानको सम्मानस्वरूप महर्जनले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । विसं २०५५ मा उनी मकवानपुर सङ्गीत प्रतिभा पुरस्कारबाट सम्मानित भए । त्यसपछि नित्य गोविन्द स्मृति सङ्गीत पुरस्कार, कमला भवानी सङ्गीत पुरस्कार, ‘मकवानपुर श्री’ सम्मानलगायत विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानदेखि विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले उहाँको योगदानको कदर गरेका छन् ।

रेडियो नेपालदेखि एल्बमसम्म

महर्जनका सिर्जनाले रेडियो नेपालदेखि साङ्गीतिक एल्बमसम्म स्थान पाएका छन् । विसं २०५६ मा मनहरि थापाको स्वरमा ‘जिन्दगी लिएर के गरौँ’ गीत रेडियो नेपालबाट रेकर्ड भयो । त्यसपछि उनको एकल सङ्गीत एल्बम ‘अभिलाषा’ पलायो ।

उनका शब्द तथा सङ्गीतमा तुलुक लामाको स्वर रहेको ‘लाग्छ तिमीले मलाई’, राजेश मानन्धरको स्वरमा रहेको ‘सपनीमा हैन विपनीमा मेरो’, शम्भुप्रसाद बास्कोटा तथा घनश्याम ढकालले गाएका ‘जिन्दगी नै एक खेल हो’ र ‘जुनेली रातमा को होला’लगायतका गीतले पनि स्रोतामाझ स्थान बनाएका छन् । उनको गीत तथा भक्ति सङ्गीतको सङ्ग्रह ‘साङ्गीतिक अनुभूति’ समेत प्रकाशित भइसकेको छ ।

अहिले पनि महर्जन विश्राममा बसेको छैन । उनी हाल पिएम सेन्टर सङ्गीत विभागका अध्यक्षका रूपमा सक्रिय छन् । विभागमार्फत भक्ति सङ्गीतको संरक्षण, सङ्गीतकर्मीबीच एकता र नयाँ पुस्तालाई प्रशिक्षण दिने अभियान सञ्चालन भइरहेको छ ।

विभागका महासचिव तथा कार्यक्रम संयोजक गहन खतिवडाका अनुसार, हरेक शनिबार अपराह्न ४ः०० बजे हेटौँडाको भुवनेश्वर पशुपति मन्दिर परिसरमा चर्चित कलाकारहरूको सहभागितामा नियमित भक्ति सङ्गीत कार्यक्रम आयोजना गरिन्छ ।

यस अभियानको उद्देश्य केवल सङ्गीत प्रस्तुत गर्नु मात्र होइन, धार्मिकस्थलमा साङ्गीतिक वातावरण सिर्जना गर्दै आध्यात्मिक जागरण, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्नु पनि हो ।

सात दशकको जीवनमा पाँच दशकभन्दा लामो साङ्गीतिक साधना, सयौँ शिष्य, सयौँ सिर्जना र दर्जनौँ सम्मान, यी सबैले महर्जनलाई मकवानपुरको सांगीतिक इतिहासमा एक संस्थाका रूपमा स्थापित गरेका छन् ।

उनको यात्रा एउटा कलाकारको व्यक्तिगत सफलताको कथा मात्र होइन, सङ्गीतलाई पुस्तान्तरण गर्ने, समाजलाई संस्कृतिसँग जोड्ने र स्थानीय सङ्गीतलाई जीवन्त राख्ने अभियानको कथा पनि हो । आज पनि उहाँको हार्मोनियमका सुरहरू हेटौँडाको साङ्गीतिक भविष्यलाई नयाँ पुस्तासम्म पु¥याइरहेका छन् । रासस