वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोकस्थित जय नेपाल होटेलको कोठा नं ११८ मा लागुऔषध बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी इनरुवा र लागुऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए ।
उक्त होटेलको कोठामा कानुनबमोजिम खानतलासी गर्दा एनआईटीसी–१० लेखिएको २० पत्तामा २०० थान ट्याबलेट र ओएनआरइएक्स लेखेको १०० मिलीग्रामका दुई बोतल लागुऔषध फेला परेको उनले जानकारी दिए ।
उक्त लागुऔषध बिक्रीवितरण कार्यमा संलग्न चितवनको रत्ननगर नगरपालिका–६ बस्ने ५२ वर्षीय उत्तमकुमार पाठक र पर्सास्थित वीरगञ्ज महानगरपालिका–२ का ३५ वर्षीय ओसिम ठकुराईलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया