देवानगञ्जमा कर्फ्यू उल्लङ्घन गरी तोडफोड र आगजनी: स्थिति नियन्त्रणमा लिन सेना परिचालन


सुनसरी । देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रदर्शनकारीहरूले निषेधाज्ञा र कर्फ्यू आदेश उल्लङ्घन गर्दै आगजनी र तोडफोड जारी राखेपछि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ।

आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपले उग्र रूप लिएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय एक युवकको मृत्यु भएको थियो। झडपमा परी अन्य नौ जना घाइते भएका छन्। घटनापछि उत्पन्न अत्यधिक तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानैदेखि प्रभावित क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो।

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशलाई वेवास्ता गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएर तोडफोड तथा आगजनीमा संलग्न भएपछि सुरक्षा अवस्था झनै बिग्रिएको थियो। यसैबीच, स्थिति नियन्त्रणमा लिन नेपाली सेनालाई मैदानमा उतारिएको छ।