काठमाडौ । सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको धार्मिक सद्भाव खल्बलिने घटनाबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
सोमबार बिहान गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेपछि गृहमन्त्री गुरुङले साँझ सुरक्षा समितिको बैठक बोलाएका हुन्। आइतबार राति सुनसरीको कप्तानगन्ज क्षेत्रमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनापछि उत्पन्न तनाव, सुरक्षा व्यवस्थापन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे बैठकमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयकी सूचना अधिकारी (उपसचिव) रमा आचार्य सुवेदीका अनुसार बैठकमा घटनाको दीर्घकालीन समाधान खोज्ने, सामाजिक सद्भाव कायम राख्ने तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
यसैबीच गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। उपसचिव सुवेदीका अनुसार छानबिन समिति पाँच सदस्यीय रहनेछ। समितिले घटनाको कारण, सुरक्षा निकायको भूमिका तथा उत्पन्न परिस्थितिका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिने बताइएको छ।




प्रतिक्रिया