झापा । झापाको अर्जुनधाराबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको ३२ बोरा चिनी र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन आइतबार नियन्त्रणमा लिएको छ ।
अर्जुनधारा नगरपालिका-११ कालीझोडास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीका अनुसार बरामद गरिएको चिनी एक लाख १२ हजार बराबरको छ । उनका अनुसार प्र१-०१-००१च ४०३८ नम्बरको पिकअप गाडी र मे१०प ५७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएका सवारीसाधन तथा चिनीलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय काँकरभिट्टामा दाखिला गरिएको निमित्त गणपति रसाइलीले जानकारी दिए । रासस




प्रतिक्रिया