लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ११ जनालाई पक्राउ गरेको हो ।

अवैध लागुऔषध कारोबारमा संलग्न रहेका भन्ने सूचनाका आधारमा लतिलपुर, झापा, सुनसरी, कैलाली, दाङ र नवलपरासी पश्चिमबाट आइतबार र आज गरी ११ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुरको गोदावरी नगरपालिका-३ टौखेलबाट अवैध लागुऔषध पोलेन करिब पाँच ग्राम र नियन्त्रित लागुऔषध स्पास्पेन २० ट्याब्लेटसहित सोही ठाउँ बस्ने कास्की घर भएका २० वर्षीय आरएन गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले निजलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-२ चाराली चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद रु पाँच हजार ६०० सहित दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पृथ्वीनगरले जनाएको छ । पक्राउ पर्नेमा भद्रपुर-२ का २६ वर्षीय अमन राई र सोही ठाउँका २६ वर्षीय निकेश राई रहेका छन् । प्रहरीले उनीहरूले प्रयोग गरेको मे९प १६०३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

झापाको हल्दीबारी गाउँपालिका-३ बाङ्गे चोकस्थित सन्ध्या होटलबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्रामसहित सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय विकास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका-७ बाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ८३ ट्याब्लेट र नगद रु १९ हजार ४८५ सहित धरान-७ पानमारा बस्ने १९ वर्षीय सोएल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-७ देवरियाबाट सोही ठाउँ बस्ने २५ वर्षीय पवन चौधरी, बर्दगोरिया गाउँपालिका-३ खैरेनीबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने २३ वर्षीय कुँवेर पार्की पक्राउ परेका छन्।

त्यस्तै, दाङको शान्तिनगर गाउँपालिका-७ खैरेनीबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ६७ ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २२ वर्षीय गणेश विष्ट र घोराही उपमहानगरपालिका-१४ स्वर्गद्धारी टोल डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सन्तोष बाठालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१ बस्ने ३४ वर्षीय गणेश गुप्तालाई नियन्त्रित लागुऔषध डाइजेपाम ३९६ एम्पुल, फेनारगन ४४६ एम्पुल र बुप्रेनोर्फिन ४४६ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।