नेपाली बजारमा ‘भिडा’को प्रवेश, अन्तर्राष्ट्रिय यात्रा सुरु



काठमाडौं । हिरो मोटोकर्पद्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसँगै भिडाले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको हो ।

नेपाली ग्राहकहरूको बहुआयामिक जीवनशैली र आवश्यकताअनुरूप भिडा भीजेड२ इभुटर सिरिज तथा युवापुस्तालक्षित भिडा डिर्ट इके–३ विद्युतीय अफ–रोड मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुनेछ ।

दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको भिडा भीजेड२ इभुटरले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तर प्रदान गर्दछ ।

त्यस्तै, भिडा डिर्ट इके–३ ले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ–रोड राइडिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ र

नेपालमा भिडाका उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप)मार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन् । चौधरी ग्रुप नेपालका अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो, जसले विश्वभर १६० भन्दा बढी कम्पनीहरू तथा १२३ ब्रान्डहरू सञ्चालन गर्दै आएको छ ।

यस ऐतिहासिक अवसरमा हिरो मोटोकर्पअन्तर्गतको इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी प्रमुख व्यापार अधिकृत कौशल्या नन्दकुमारले नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध जनाए । 

नन्दकुमारले भने, ’भिडाको अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु हाम्रो लागि गर्वको विषय हो। नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बजार हो, जहाँ विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। भारतमा विकसित हाम्रो उत्कृष्ट इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पुर्‍याउन पाउँदा हामी उत्साहित छौं। सिजी मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।’

त्यसैगरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने बताए । ‘नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको छ । भिडाको नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएका छौँ । दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरूको आवश्यकता अनुरूप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनहरूले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन् । हिरो मोटोकर्पसँगको हाम्रो लामो सहकार्यलाई भिडामार्फत अझ सुदृढ बनाउँदै नेपालको हरित भविष्य निर्माणमा योगदान दिन पाउँदा हामी गर्व गर्छौं .’ उनले भने ।