काठमाडौं । सुनसरीमा भएको पछिल्लो घटनापछि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न सबैमा अपिल गरेका छन्।
आज बिहानै एक भिडियो सन्देश जारी गर्दै धमलाले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई संयमता अपनाउन आग्रह गरेका हुन्। उनले सामाजिक सद्भाव, एकता र मेलमिलाप नेपाली समाजको पहिचान भएकाले त्यसलाई जोगाउनु सबैको जिम्मेवारी भएको बताए।
“हालै सुनसरीमा भएको दुःखद् घटनाले हामी सबैको मन रोएको छ। एउटा सामान्य विवादले हिंसाको रूप लिँदा हामीले आफ्नै छिमेकी गुमाउनुपर्यो भने धेरै दाजुभाइ र सुरक्षाकर्मी घाइते हुन पुगे,” धमलाले भने।
उनले घटनामा बगेको रगत र आँसु कुनै एउटा जात वा धर्मको मात्र नभई सम्पूर्ण नेपालीको भएको उल्लेख गरे।
“सरकार, प्रहरी र राजनीतिक दलहरूले शान्ति कायम गर्न पहल गर्लान्, तर नागरिक–नागरिकबीचको सम्बन्ध बलियो बनाउने काम हामी आफैंले गर्नुपर्छ,” उनले भने।
धमलाले धर्म, आस्था, पूजा र प्रार्थनाका तरिका फरक भए पनि सबैभन्दा माथि मानवता र छिमेकीपन रहेको बताए।
उनले अफवाह, अविश्वास र आक्रोशको पछि नलाग्न आग्रह गर्दै हिंसाले कसैको हित नगर्ने बताए। “हामी विभाजित भयौँ भने जित कसैको हुँदैन, पराजित केवल हाम्रो वर्षौँ पुरानो भाइचारा हुनेछ,” उनले भने।




प्रतिक्रिया