काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा विभिन्न धर्मका गुरु, नागरिक अभियन्ता तथा सर्वसाधारणको उपस्थितिमा शान्ति सभा आयोजना गरिएको छ । स्वतन्त्र नागरिक अभियान नेपालको आयोजनामा भएको कार्यक्रममा देशमा दिगो शान्ति, सामाजिक सहिष्णुता र धार्मिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले देशमा सामाजिक सहिष्णुता, धार्मिक सद्भाव र दिगो शान्ति अहिलेको प्रमुख आवश्यकता रहेको बताए । उनले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे ।
धमलाले नेपाली जनता हिंसा र द्वन्द्व नभई शान्ति, एकता र मेलमिलापको पक्षमा रहेको उल्लेख गरे । “सगरमाथा, बुद्ध र पशुपतिनाथको यो देशमा कसैले पनि हिंसा र द्वन्द्व चाहँदैनन्,” उनले भने, “सुनसरी राजनीतिक र ऐतिहासिक रूपमा सामाजिक सद्भाव कायम भएको जिल्ला हो । त्यहाँका जनता पनि शान्ति र एकताको पक्षमा छन् ।”
उनले देश संकटमा परेका बेला राजनीतिक दलहरूले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा राष्ट्रिय सहमति र सहकार्यको बाटो रोज्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएर सकारात्मक पहल गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले पनि तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने धारणा राखे ।
स्वतन्त्र नागरिक अभियानले सरकारका सकारात्मक काममा सहयोग गर्ने र कमजोरी देखिए निरन्तर खबरदारी गर्ने भन्दै धमलाले अभियानले छाया सरकारको भूमिका निर्वाह गर्ने बताए ।
उनले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष नागरिकमाथिका मुद्दा फिर्ता लिन, सुनसरी घटनाका मृतकलाई शहीद घोषणा गरी राहत उपलब्ध गराउन तथा सहकारी, लघुवित्त र मिटरब्याजपीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे ।
“देशमा भएका ठूला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कारबाही गरिनुपर्छ,” धमलाले भने, “सरकार जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ ।”
स्वतन्त्र नागरिक अभियानले जनताका समस्या बुझ्न र धार्मिक सहिष्णुताको सन्देश फैलाउन सातै प्रदेशसहित सुनसरीको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको पनि धमलाले जानकारी दिए ।




प्रतिक्रिया