जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै


टोकियो । जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झरेको छ । बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, सन् २०२६ जनवरी १ सम्म जापानी नागरिकको सङ्ख्या ११ करोड ९७ लाख ३६ हजार ४८३ मा झरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा नौ लाख १७ हजारले घटेको हो । सन् १९६८ देखि तुलनायोग्य तथ्याङ्क राख्न थालिएयता यो अहिलेसम्मकै ठूलो वार्षिक गिरावट हो ।

जापानका ४७ प्रिफेक्चर (प्रशासनिक क्षेत्र)मध्ये टोकियोमा मात्र जापानी नागरिकको जनसङ्ख्या ०.०९ प्रतिशतले बढेको छ ।

यसैबीच, जापानमा विदेशी बासिन्दाको सङ्ख्या तीन लाख ५४ हजारले बढेर ४० लाख ३१ हजार १५९ पुगेको छ । सन् २०१३ देखि तथ्याङ्क राख्न थालेयता यो विदेशी बासिन्दाको सबैभन्दा ठूलो सङ्ख्या हो ।

विदेशी बासिन्दासमेत समेट्दा जापानको कुल जनसङ्ख्या १२ करोड ३७ लाख ६७ हजार ६४२ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब पाँच लाख ६३ हजारले कम हो ।

तथ्याङ्कअनुसार टोकियो, चिबा र ओसाका प्रिफेक्चरमा मात्र कुल जनसङ्ख्या वृद्धि भएको छ ।