राष्ट्रपति-प्रधानमन्त्रीबिच करिब १५ मिनेट भेटवार्ता


काठमाडौँ। प्रधानमन्त्री बनेको चार महिनापछि बालेन्द्र शाहले पहिलोपटक शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो।

सो भेटवार्ताका क्रममा उनीहरूबिच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

करिब १५ मिनेटसम्म चलेको उक्त भेटवार्तामा तराई मधेस क्षेत्रमा देखा परेका समस्याहरूका बारेमा केन्द्रित रहेर कुराकानी भएको थियो। भेटका क्रममा प्रधानमन्त्री शाहले देशको पछिल्लो परिस्थितिलाई लिएर सरकार गम्भीर रहेको र समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताएको राष्ट्रपति निकट स्रोतले बतायो ।

जवाफमा राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो अवस्थाप्रति चासो व्यक्त गर्दै सरकारलाई थप सचेत रहन सुझाव दिए। राष्ट्रपतिले पछिल्लो समय अवस्था अलि गम्भीर बन्दै गएको उल्लेख गर्दै सबै पक्षसँग सल्लाह गरेर सर्वदलीय कुराकानीमार्फत अगाडि बढ्न सुझाव दिए ।