काठमाडौ । स्मार्ट सेलसँग सम्बन्धित अनियमितता प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराका अनुसार स्मार्ट सेल प्रकरणमा अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको हो।
अनुसन्धानका क्रममा स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियामार्फत राज्यलाई हानि–नोक्सानी पुर्याएको आरोपमा उनीमाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ। भण्डारी यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको कार्यकालमा विज्ञका रूपमा मन्त्रीको सचिवालयमा कार्यरत थिए।
त्यसपछि टेरामक्स प्रकरणमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए। प्रहरीले प्रकरणसँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जनाएको छ।




प्रतिक्रिया