काठमाडौँ । सुनसरीको देवागञ्ज घटनापछि उत्पन्न परिस्थिति विस्तारै सामन्यीकरण हुँदै गइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । नेपाली सेनासहित तीन वटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ ।
नेपाली सेनाको पूर्वी पृतनापति गौरवकुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज ‘हाई अलर्ट’मा रहेको बताए । “शान्ति सुरक्षाको अवस्थामा आएको चुनौती क्रमशः कम हुँदै गइहरेको छ”, उनले भने ।
गृहमन्त्री सुधन गुरुङले घटनास्थलमा पुगेर पीडित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीको विश्लेषण छ । सहमतिअनुसार मृतकको शव बुझ्ने र अत्येष्टि प्रक्रिया अघि बढिसकेको छ । गृहमन्त्री र पीडिप परिवारबीच गएराति सातबुँदे सहमति भएको थियो ।
सशस्त्र प्रहरी बल नेपालका केसी प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक मनिष थापाले तीनवटै सुरक्षा फौजबीच सहकार्य र समन्वयमा परिचालन भइरहेकाले पूर्वी तराईमा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको बताए । “समग्रमा अहिले शान्ति सुरक्षाको स्थिति एकदम नियन्त्रणमा छ । सबै क्षेत्रमा समन्वयका साथ काम भइरहेको छ”, उनले भने ।
तीनवटै सुरक्षा निकायले घटनाका बारेमा सुक्ष्म विश्लेषण, अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन् । अहिले पनि सुनसरी, धनुषा, सिरहा, पर्सालगायत जिल्लाका केही भागमा भने कफ्र्यु जारी छ । ती जिल्लामा देखिएका तनाव कम गर्न विभिन्न प्रयास भइरहेको छ । पछिल्ला घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले पनि आफ्नो काम गरिरहेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा व्यवस्थालाई मजबुद बनाउने र सामाजिक सद्भाव कायम राख्नेमा सरकारको प्रयास केन्द्रित रहेको बताए । गृह सचिवको अध्यक्षतामा धार्मिक समुदायका अगुवासँग छलफल भएको उनले जानकारी दिए । रासस




प्रतिक्रिया