हेटौँडा । बागमती प्रदेशको राजधानी तथा मकवानपुुर जिल्लाको सदरमुकाम हेटौँडामा शनिबार बृहत सद्भाव र्याली आयोजना गरिने भएको छ । सुनसरी, सिरहासहित तराई-मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न हेटौँडामा बृहत सामाजिक सद्भाव र्याली गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले शनिबार हुने सद्भाव र्यालीमा सहभागिताका लागि सबैलाई आह्वान गरे । शनिबार दिउँसो ४ः ०० बजे हेटौँडा उपमहानगरपालिका-४ हुप्राचौरमा जम्मा भई बृहत सामाजिक सद्भाव र्याली गर्न लागिएको जनाउँदै उनले सहभागिताका लागि सबैलाई अपिल गरे ।
सम्पूर्ण धार्मिक सङ्घसंस्थाका अगुवा तथा प्रतिनिधि, विभिन्न धर्म संस्कृतिमा आस्था राख्ने धर्मावलम्बीहरू, जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधिहरू, विभिन्न हितसमूहहरू, अधिकारकर्मीहरू, आमसञ्चारकर्मी, टोल विकास संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सुरक्षा निकाय, सरकारी निकायका कर्मचारीलगायत आम जनसमुदायको सहभागितामा र्यालीलाई सफल बनाउन पनि प्रशासनले सबैमा अनुरोध गरेको छ ।




प्रतिक्रिया