रोहिङ्ग्याबारे छानबिनको माग गर्दै युवा अभियन्ता अन्सारीले गरे यस्तो अपिल !


काठमाडौं । युवा अभियन्ता डा. अबुल हुसेन अन्सारीले सरकारसँग गैरकानुनी रूपमा बसोबास गरिरहेका रोहिङ्ग्याबारे छानबिन गर्न उच्चस्तरीय निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरेका छन् ।

आज( शुक्रबार) सामाजिक सञ्जालमार्फत अन्सारीले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गर्दै सुनसरी घटनामा मुस्लिम समुदायमाथी आरोप लगाएको भन्दै मुस्लिम समुदायको तीन पुस्ते छानबिन गर्न आग्रह गरेका हुन् । उनले आफूबाटै छानबिन सुरु गर्न सरकारलाई अनुरोध गरेका छन् ।

उनले देशभरका जनप्रतिनिधिको सहभागितामा निष्पक्ष छानबिन समिति गठन गरी तथ्य संकलन गर्नुपर्ने धारणा राख्दै भाषण, आरोप–प्रत्यारोप र राजनीतिक स्टन्टभन्दा प्रमाणका आधारमा सत्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।

धार्मिक तथा साम्प्रदायिक विषयमा कुनै पनि समुदायलाई प्रमाणबिनै दोषारोपण गर्नु उचित नहुने उल्लेख गर्दै उनले यदि सरकारसँग कुनै प्रमाण भए कानुनबमोजिम निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

अन्सारीले सरकारले अवैध रूपमा नेपालमा बसोबास गरिरहेका व्यक्तिबारे दाबी गरेको भए कानुनअनुसार छानबिन गरी वास्तविक तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। साथै, विगतका सरकारले गैरनेपाली नागरिकलाई वितरण गरेका नागरिकताको संख्या, नेपालमा प्रवेश गरेका रोहिङ्ग्या शरणार्थीको आधिकारिक तथ्यांक तथा यससम्बन्धी सरकारी निर्णयहरूको निष्पक्ष समीक्षा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

उनले मुस्लिम समुदायका अगुवाहरूले पनि बाहिरबाट आएका व्यक्तिहरूको कानुनअनुसार छानबिन गर्न तथा जनप्रतिनिधिहरूले आफ्ना निर्वाचन क्षेत्रमा पुगेर वास्तविक अवस्था बुझ्नुपर्ने माग गरेको उल्लेख गरेका छन्।

अन्सारीले देशलाई भ्रम, अफवाह, राजनीतिक स्वार्थ र धार्मिक विभाजनतर्फ नभई सत्य, कानुनी शासन, राष्ट्रिय एकता र सामाजिक सद्भावतर्फ अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।