काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा बसेका छन् । उनकाे सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको कुनै पहल नभएको पाइएकाे छ ।
राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको स्वास्थ्य स्थिति दिनानुदिन नाजुक बन्दै गएको छ । उनले उठाएका गम्भीर मुद्दा र न्यायपूर्ण मागहरूप्रति ऐक्यबद्धता जनाउन अनशनस्थलमा विभिन्न राजनीतिक दलका नेताहरू, मधेसी नेता, नागरिक समाजका अगुवा, सुभेच्छुक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहँदै आएको छ। यति धेरै जनसमर्थन र चासो हुँदाहुँदै पनि सरकारी तर्फबाट भने नागरिकको जीवन रक्षा र उठाइएका संवेदनशील मागहरूप्रति अहिलेसम्म कुनै ठोस पहल देखाइएको छैन। राज्यको यो मौनता र एक जना नागरिकले न्यायका लागि मृत्युवरण गर्न तयार भएको यो कठोर परिस्थितिले आम मानिसको मानसपटलमा एउटा गम्भीर प्रश्न उब्जाएको छ, आखिर को हुन् विनय यादव?

विनय यादव नेपालका एक सक्रिय राजनीतिक तथा सामाजिक अभियन्ता हुन् । राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष उनी राष्ट्रिय एकता अभियान नामक नागरिक मञ्चका प्रमुख संयोजक तथा अगुवाका रूपमा पनि परिचित छन् । उनले आफ्नो राजनीतिक दल र अभियानमार्फत लामो समयदेखि राष्ट्रियता, सीमा रक्षा, सनातन धर्मको संरक्षण, हिन्दू राष्ट्रको वकालत र नागरिक अधिकारका विविध मुद्दाहरूमा निरन्तर आवाज उठाउँदै सडकदेखि सदनसम्मको ध्यान आकृष्ट गर्ने आन्दोलनहरू गर्दै आएका छन् । देशको स्वाधीनता र नागरिकको न्यायका लागि उनले आफूलाई सदैव अग्रपङ्क्तिमा उभ्याउँदै आइरहेको पाइन्छ।
राष्ट्रिय एकता दल र राष्ट्रिय एकता अभियानले उपलब्ध गराएको औपचारिक जानकारीलाई आधार मान्ने हो भने अभियन्ता यादवले देश र नागरिकका हितमा अनगिन्ती न्यायपूर्ण आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निभाएका छन् । उनकाे नेतृत्वमा भएका आन्दोलन र पहलहरूबाट हासिल भएका प्रमुख उपलब्धिहरूलाई निकै महत्त्वका साथ अगाडि सारिएको छ। यस पृष्ठभूमिमा, उनका समर्थकहरूले दाबी गरेका मुख्य योगदानहरूलाई उनकाे सङ्घर्षको महत्त्वपूर्ण पाटोका रूपमा हेरिएको छ।

यादवको नेतृत्वमा भएका आन्दोलनहरूबाट सुशासन र पूर्वाधार विकासमा थुप्रै राष्ट्रिय मुद्दाहरू सम्बोधन भएको दाबी गरिएको छ। विशेषगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भएको भनिएको भ्रष्टाचारको पर्दाफास गर्न, त्यसको निष्पक्ष छानबिन गराउन र संलग्न योजनाकारहरूलाई पक्राउ गर्न गराइएको पहललाई उनबाे ठूलो उपलब्धिका रूपमा लिइन्छ। साथै, सोही विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गराउन चालिएका कदमहरू र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गराउन पुर्याइएको निरन्तरको दबाबले देशको पूर्वाधार विकासप्रतिको उनकाे सजगतालाई दर्साउँछ। यसैगरी, देशमा विद्यमान आर्थिक मन्दीलाई ध्यानमा राख्दै सांसदहरूको संसदीय विकास कोषको रकम वितरण बन्द गराउन गरिएको सशक्त आन्दोलनलाई पनि उनकाे महत्त्वपूर्ण कार्यका रूपमा लिइएको छ।
राष्ट्रियता र सीमा रक्षाको सवालमा पनि उनकाे भूमिका निकै आक्रामक र प्रभावकारी रहेको बताइएको छ। नेपालको उत्तरी सीमाना, विशेषगरी हुम्ला र गोरखा जिल्लाको चुमनुब्रीस्थित रुइला नाकामा चीनद्वारा भएको भनिएको नेपाली भूमि अतिक्रमणविरुद्ध उनले चर्को आवाज उठाएका थिए । सन् २०२२ फेब्रुअरीमा उनकै नेतृत्वमा राष्ट्रिय एकता अभियानले काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा पुगेर हुम्लामा भएको चिनियाँ अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको थियो। उक्त आन्दोलनको फलस्वरुप छानबिन समिति गठन गर्न सफल भएकाे दाबी गरिएको छ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन र सीमाको संयुक्त निरीक्षण गर्न निरन्तर दबाब दिने काम पनि उनीबाटै भएको थियो। चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभलाई राष्ट्रघाती भन्दै त्यसको खारेजीको मागसहित काठमाडौँमा वृहत् प्रदर्शन गर्नुका साथै रक्षा मन्त्रालयमार्फत चीनबाट अनावश्यक रूपमा हतियार खरिद गर्ने प्रक्रिया रद्द गराउन उनले दिएको दबाबलाई पनि मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। यस अतिरिक्त, चिनियाँ नागरिकहरूद्वारा वीरगन्जमा गैरकानुनी रूपमा सञ्चालन गरिएका अवैध व्यापारिक गतिविधि बन्द गराउने कार्यमा पनि उनकाे सक्रियता रहेको थियो।
यस्तै, मधेस प्रदेश सरकारद्वारा ल्याउन लागिएको मदरसा विधेयक स्थगन गराउन उनले खेलेको भूमिका र मधेस प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा कमिसनका लागि रोकिएको भनिएको उपभोक्ता समितिको भुक्तानी फर्छोट गराउन गरिएको पहलले उनकाे जनपक्षीय अडान देखाउँछ। यसैगरी, इसाई मिसनरीद्वारा प्रायोजित मानिएको र एक प्रतिष्ठित अभिनेता राजेश हमालको जातमाथि प्रश्न उठाइएको टेलिभिजन कार्यक्रम बन्द गराउन उनले आन्दोलन गरेका थिए । यसबाहेक, मुस्लिम आयोगले विशेष विचारधारालाई बढावा दिएको आरोप लगाउँदै उक्त आयोग खारेज गर्नुपर्ने र नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागमा पनि उनले निरन्तर सडक आन्दोलन गर्दै आइरहेका छन् ।
लामाे समयदेखि देश, समाज र राष्ट्रियताका लागि आवाज उठाउँदै आएका तिनै विनय यादव अहिले भने नितान्त नागरिक न्यायको खोजीमा आफ्नो ज्यानको बाजी लगाएर सडकमा बसेका छन् । लगातार आठ दिनदेखि अन्न र जल त्याग गरेर अनशनमा बस्दा उनकाे स्वास्थ्य स्थिति दिनानुदिन निकै नाजुक बन्दै गइरहेको छ। जब राज्य संयन्त्र नागरिकका जायज आवाज सुन्नबाट पन्छिन्छ र न्यायका ढोकाहरू बन्द गरिदिन्छ, तब नागरिकहरू बाध्य भएर यस्तो कठोर र कष्टकर बाटो रोज्न पुग्छन्।
आमरण अनशन शक्तिहीन मानिसहरूको एक शक्तिशाली हतियार हो। राज्यसत्ताको अहङ्कारलाई तोड्न र न्यायको स्थापना गर्न प्रयोग गरिने यो शान्तिपूर्ण तर प्राणघातक हतियारको मूल्य राज्यले बुझ्न जरुरी छ। मृत्युसँग जुध्दै न्यायको याचना गरिरहेका यादवको जीवन रक्षा गर्न र उनले उठाएका न्यायोचित मागहरूलाई अविलम्ब सम्बोधन गर्न सरकारले तत्काल वार्ता र संवादको ढोका खोल्नैपर्छ।




प्रतिक्रिया