भाडा तिरेको एक महिना बितिसक्दा पनि रिपोर्टर्स क्लब नखोलिनु दुःखद् : रञ्जन खनाल


काठमाडौं । सुशासन अभियन्ता रञ्जन खनालले निरंकुश शासनका समयमा समेत बन्द नभएको रिपोर्टर्स क्लब अहिले बन्द हुनु दुःखद भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लोकतन्त्रमा सरकारले सञ्चारमाध्यमप्रति गरेको व्यवहार उचित नभएको टिप्पणी गरे।

‘मिडियाले भाडा तिरेको छैन भने मिनाहा गर्नुपर्थ्यो । तर भाडा तिरेको एक महिना बितिसक्दा पनि रिपोर्टर्स क्लब नखोलिनु दुःखद् हो,’ खनालले भने ।

वर्तमान सरकार निर्माणमा आफूहरूको समेत साथ र समर्थन रहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अघिल्लो सरकारले अन्याय गरेको भन्दै आफूहरूले माइतीघरमा पुगेर आन्दोलन गरेको र लामिछाने हिरासतमा रहेका बेला कास्की पुगेर भेटेको पनि उनले स्मरण गरे ।

खनालले रिपोर्टर्स क्लबमा लगाएको ताला तत्काल खोलिदिन सरकारसँग आग्रह गरे ।