काठमाडौं, साउन ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले नयाँ दल दर्ता गरी राजनीतिक भविष्यको बाटो तय गरेका डा. धवलशमशेर राणालाई राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिदै राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न चुनौती दिएका हुन् ।
‘अन्ततः नयाँ दल दर्ता गरेर भविष्यको बाटो तय गर्नुभएकोमा डा।धवल शमसेर राणालाई बधाई छ। राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न सक्नुहोस्, आज तपाईँलाई चुनौती होइन शुभकामना’ उनले लेखेका छन्।
श्रेष्ठले राप्रपा निर्माणको आवश्यकता रहेका बेला पार्टी छाड्ने, पार्टीको बदनाम गर्ने, निर्वाचनका बेला पुनः राप्रपा आवश्यक पर्ने तथा पार्टीमा फर्किएपछि आफूले विगतमा पाएको वा त्यसभन्दा माथिल्लो पदका लागि अनावश्यक बार्गेनिङ गर्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, अन्ततः नयॅा दल दर्ता गरेर भविष्यको बाटो तय गर्नुभएकोमा डा.धवल शमसेर राणालाई बधाई छ। राप्रपा छाड्नुको औचित्य पुष्टि गर्न सक्नुहोस्, आज तपाईलाई चुनौति होइन-शुभकामना। एउटा नमिठो विगत र यदाकदा तपाई हामीले गफ गर्ने गरेको प्रसंग जोड्न चाहन्छु। राप्रपा निर्माणको सर्वाधिक आवश्यकताको बेला पार्टी छाड्ने, राप्रपाको सकेसम्म बदनाम गर्ने, चुनावको बेला फेरि राप्रपा नै चाहिने, पुनः राप्रपामा जोडिदा रहर र लहडमा खोलेको दलमा पाएको वा त्यो भन्दा माथिको पदमा अनावश्यक बार्गेनिङ र जबरजस्ती सम्झौता खोज्ने विगतको परम्परा र अभ्यास रहिआएको छ। कुनै समय पार्टीमा काम गरेको सन्दर्भ जोड्ने र पुरस्कृत हुने यो प्रवृत्तिलाई निस्तेज र निरुत्साहित गर्दै नयॅा सदस्य सरहको वैधानिक हैसियत कायम गर्न राप्रपामा आवश्यक छ। प्रसंगवश यो विषय जोडेको मात्र हॅु, तपाईहरुको भने त्यो दिन नआओस् ! ०६८ माघ ७ गते बागलुङबाट जोडिएको तपाई हाम्रो राजनीतिक सहकार्यको यात्रालाई आज तपाईले औपचारिक र विधिवत रुपमा अलग गर्नुभएको छ। व्यक्तिगत रुपमा तपाईको हितैषी रहिरहनेछु !
लगतै उनले आज पुनः अर्काे पोष्ट सार्वजनिक गर्दै लेखेका छन् ‘राजसंस्था र हिन्दुराष्ट्रका नाममा जतिवटा दल र समूह बनाएपनि राप्रपालाई बलियो नबनाएसम्म वा राप्रपाको नेतृत्वमा संगठित नभएसम्म क्षणिक मनोरन्जन त होला तर नेपालको राष्ट्रवादी आन्दोलन मजबुत हॅुदैन । यो यथार्थ बुझ्न र स्विकार गर्न जति ढिला गऱ्यो त्यति क्षति हॅुदै जान्छ । राप्रपालाई कमजोर, शिथिल र विवादित तुल्याइरहन कहिले पार्टीभित्र विभिन्न पात्र र प्रवृत्ति पैदा गरिन्छ त कहिले पार्टी बाहिर विभिन्न नामका दल, समूह खडा गरिन्छ। त्यसरी दल, समूह खडा गर्दा सकेसम्म राप्रपाकै मान्छे प्रयोग गर्ने गरिन्छ जसले गर्दा राप्रपा पनि विवादित जस्तो भइरहने र राप्रपा बाहिर अर्को संयन्त्र पनि निर्माण हुने ! जो जो यस प्रवृत्तिमा संलग्न छन्, ति स्वयंलाई आफैंले गरिरहेको छु भन्ने लाग्दो हो तर यो अरु कसैको योजनामा भइरहेको छ भन्ने तिनले भेउ नपाइरहेका मात्र हुन् वा बुझेर नबुझेजस्तो गरिरहेका हुन् !
जय शम्भो !’




प्रतिक्रिया