कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ।
बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिएको थियो।
ट्रक नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डा बस्ने २६ वर्षीय दिनेश गिरीले चलाएका थिए भने स्कुटर कैलालीको बर्दगोरिया गाउँपालिका–४ बस्ने ६२ वर्षीया सावित्री देवी सापकोटाले चलाएकी थिइन्। दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको दोदोधरा अस्पताल प्रा.लि., मुडागाउँमा बिहान ८:४० बजे उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि ट्रक, ईभी स्कुटर र ट्रक चालक दिनेश गिरीलाई इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया