गरिमा हत्या घटनाको शीघ्र र निष्पक्ष अनुसन्धान गर्न प्रचण्डको माग


काठमाडौं, भदौ ६ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रचण्डले सामाजिक सञ्जालमार्फत गरिमामाथि भएको जघन्य अपराधले आफू स्तब्ध र आक्रोशित भएको बताएका हुन्।
उनले गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरेका छन्।

प्रचण्डले गरिमामाथिको अपराध एउटा परिवारमाथिको पीडा मात्रै नभई राज्य, समाज र न्याय प्रणालीमाथिकै गम्भीर प्रश्न भएको बताएका छन्। ‘छोरीहरू भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व हो,’ उनले भनेका छन्।

घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गर्न माग गर्दै प्रचण्डले अपराधमा संलग्नलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारलाई आग्रह गरेका छन्।