पार्टीको बैठक छाडेर मुस्ताङतिर बालेन : वरिष्ठ नेता कि आफ्नै बाटोमा हिँड्ने प्रधानमन्त्री ?




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाएको छ । वरिष्ठ नेताको जिम्मेवारी पाएका प्रधानमन्त्री बालेन केन्द्रीय समिति बैठकमा भने एकपटक पनि उपस्थिति भएका छैनन्

शुक्रबार रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बसिरहँदा प्रधानमन्त्री शाह भने स्थलमार्ग हुँदै पोखरा र त्यसपछि मुस्ताङतर्फ लागे । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनदेखि स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका महत्वपूर्ण विषयमा छलफल हुँदै थियो ।


त्यहिबेला बालेन निजि भ्रमणका लागि मुस्ताङतर्फ काठमाडौबाट निस्किए । बालेनको यो नै पहिलो रास्वपा केन्द्रीय समिति बैठकपमा अनुपस्थिति भने होइन । प्रथम महाधिवेशनपछि साउन १३ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले उनलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता मनोनयन गरेको थियो । तर, जुन बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गर्यो, त्यसमा पनि उनी उपस्थित थिएनन् ।


वरिष्ठ नेता बालेन पार्टीको निर्णायक बैठकमा किन उपस्थित भएनन् ?

बालेन पक्षले आफ्नो राजनीतिक हैसियत निर्माण गरिरहेको बेला पार्टीको संगठनात्मक संरचना विस्तार गर्ने महत्वपूर्ण बैठकमा उनको अनुपस्थिति सामान्य कार्यक्रमगत व्यस्तता मात्र हो कि पार्टीलाई नै बहिष्कार भन्ने चर्चा अहिले सुरु भएको छ । अझ रोचक पक्ष उनको मुस्ताङ भ्रमणलाई लिएर देखिएको छ । प्रधानमन्त्रीको भ्रमणबारे सुरक्षा अधिकारीहरू नै अनभिज्ञ देखिएका छन् । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले समेत आफूले सञ्चारमाध्यमबाट मात्रै प्रधानमन्त्रीको भ्रमणबारे जानकारी पाएको बताइन् । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले पनि भ्रमणको उद्देश्यबारे स्पष्ट जानकारी दिन चाहेनन् ।

प्रधानमन्त्रीजस्तो संवैधानिक जिम्मेवारीमा रहेको व्यक्तिको भ्रमणमा सुरक्षा व्यवस्थापन स्वाभाविक रूपमा संवेदनशील विषय हुन्छ । त्यसैले ‘प्रधानमन्त्री कहाँ जाँदैछन् ?’ भन्ने जानकारी सीमित राखिनु र राज्यका सम्बन्धित संयन्त्रलाई औपचारिक रूपमा जानकारी नदिनुलाई चासोको साथ हेरिएको छ ।


बालेन प्रधानमन्त्री मात्र होइनन्, अहिले रास्वपाका वरिष्ठ नेता र संसदीय दलका नेतासमेत हुन् । पार्टीभित्र उनको प्रभावलाई संस्थागत गर्ने निर्णय भइसकेको छ । तर, पार्टीका महत्वपूर्ण बैठकहरूमा उनको उपस्थिति नहुनुले संशय पैदा गरेको छ ।

अर्कोतर्फ, बालेन र नेपाली सेनाबीचको सम्बन्धलाई लिएर पनि राजनीतिक वृत्तमा चासो बढेको छ । प्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहेका शाहले प्रधानसेनापति अशोक सिग्देलसँग नियमित भेटवार्ता गर्दै आएका छन् । पछिल्लोपटक साउन २० गते भएको भेटलाई सेनाले प्रधानमन्त्री र प्रधानसेनापतिबीचको नियमित समन्वयका रूपमा व्याख्या गरेको थियो ।

यहीबेला बालेनको मुस्ताङ भ्रमणका क्रममा सुरक्षा संयन्त्रलाई जानकारी नहुनु र सेनासँग उनको निरन्तर समन्वय हुनुलाई विभिन्न अड्कलबाजी हुन थालेका छन् । तर, सेनालाई मात्र जानकारी थियो वा सेनाको कुनै विशेष संयन्त्रसँग समन्वय गरिएको थियो भन्ने कुरा अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।

बालेन परम्परागत दलका बैठक, औपचारिक राजनीतिक भेटघाट र सार्वजनिक राजनीतिक अभ्यासमा अरू नेताले जस्तो नियमित गर्दैनन् । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले समेत वरिष्ठ नेताको बैठकमा उपस्थिति अनिवार्य नभएको प्रतिक्रिया दिएका छन् ।

तर पार्टीको वरिष्ठ नेता बनेपछि पनि लगातार बैठकमा उपस्थित नहुनुले भने नयाँ प्रश्न जन्माएको छ । वरिष्ठ नेता पद केवल सम्मानका लागि हो कि पार्टीको निर्णय प्रक्रियामा सक्रिय भूमिकाका लागि ?