बाढीको वितण्डा: १९ पुल र ४० किमी सडक क्षतविक्षत, यातायात पूर्णरूपमा ठप्प


काठमाडौ । त्रिशूली नदीमा आएको भीषण बाढीले नदी कोरिडोर तथा आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ।

सडक विभागका अनुसार बाढी र पहिरोका कारण उक्त क्षेत्रमा कम्तीमा १९ वटा पुल क्षतिग्रस्त भएका छन्। बाढीले विभिन्न स्थानमा गरी कम्तीमा ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्काएको तथा बगाएको विभागले जनाएको छ। सडक तथा पुलमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल अवरोध हटाएर सडक सञ्चालनमा ल्याउन तथा क्षतिग्रस्त संरचनाको अस्थायी मर्मत गर्न सडक विभागले काम अघि बढाएको छ। विभागले क्षतिग्रस्त सडक तथा पुल आसपासका क्षेत्रमा पहिरो पन्छाउन र अवरुद्ध सडक खुलाउन ठूला तथा हेभी मेसिनरी उपकरण परिचालन गरेको छ। प्राविधिक टोलीसहित आवश्यक मेसिनरी संवेदनशील स्थानमा तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ।

तर भौगोलिक विकटता, निरन्तर प्रतिकूल मौसम र बाढीको जोखिमका कारण सडक पुनः सञ्चालनमा ल्याउने काम चुनौतीपूर्ण बनेको छ। कतिपय स्थानमा सडकको जग नै बगाएको र पुलमा गम्भीर क्षति पुगेकाले यातायात सेवा तत्कालै पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन देखिएको विभागको भनाइ छ।

सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सडकको पछिल्लो अवस्था तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न अनुरोध गरिएको छ। बाढी र पहिरोबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको विभागले जनाएको छ।