माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी


सुनसरी, १२ भदौ । भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन् । दश कट्ठा क्षेत्रफलबाट सुरु गरेको माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो । उनी बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन् ।

उनले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । विसं २०५२ मा दश कट्ठाबाट माछापालन सुरु गरेका अधिकारीले हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आएका छन् ।

अधिकारीले रौ, नैनी, भाकुर, कमन, ग्रासलगायत सात प्रजातिका माछा पाल्दै आएका छन् । पोखरीमा उत्पादित माछा सुनसरीका इनरुवा, लौकही, कालाबञ्जर, इटहरी, झुम्कालगायतका बजारमा बिक्री हुने गरेको छ । अधिकांश व्यापारी पोखरीमै आएर माछा खरिद गरी लैजाने गरेका छन् । पोखरीबाट प्रतिकेजी रु २५० देखि रु।३०० मा बिक्री हुने गरेको बताए ।

उनका अनुसार करिब दुई किलो दाना खुवाउँदा एक किलो माछा उत्पादन हुने गरेको बताए । माछाको दाना प्रतिकेजी रु १६० देखि रु १७० सम्म पर्छ । उनले माछाका भूरा निजी फार्मबाट ल्याउने गरेका छन् । भूराको मूल्य प्रतिकेजी रु ५०० देखि रु ५५० सम्म पर्ने गरेको छ । कोशी प्रदेशमा सरकारी माछा भूरा उत्पादन फार्म नहुँदा सरकारी निकायबाट भूरा उपलब्ध हुन नसकेको जानकारी दिए ।

सरकारले माछापालनका लागि आवश्यक भूरा र दाना सहज रूपमा उपलब्ध गराउन सके किसानलाई थप प्रोत्साहन मिल्ने र उत्पादन बढाउन सकिने अवस्था छ । विशेषगरी बराहक्षेत्र–८, ९ र ११ मा माछापालक किसान बढ्दै गएका छन् । नगरपालिकामा करिब ३०० घरधुरीले माछापालन गर्दै आएका छन् भने एक हजार ३०० भन्दा बढी पोखरी रहेको अधिकारीले बताए ।

कोशी नदी किनारलाई कृषि पर्यटन (एग्रो टुरिजम) सँग जोडेर थप विस्तार गर्ने योजना बनाएको बताए । माछापालनसँगै पोखरी क्षेत्रलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सकिने उनको भनाइ छ ।