लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आयो


काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।

लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको हो।

विनाशकारी बाढीबाट धादिङ जिल्ला पनि प्रभावित भएपछि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला आज धादिङमा पुगेर पृथ्वी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई आग्रह गरेका थिए । ‘काठमाडौंसँग जोड्ने मुख्य सडक नै बन्द छ। बिरामी, खाद्यान्न र अत्यावश्यक सामग्री ओसारपसार गर्नसमेत समस्या भएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन गर्नुपर्छ,’ धमलाले भनेका थिए ।