भोटेकोशी बाढीपीडितका लागि पतञ्जलिको २ करोड ११ लाख राहत


काठमाडौँ । भोटेकोशी बाढीका कारण घरबार र जीविकोपार्जन गुमाएका प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि पतञ्जलि नेपालले २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ। प्राकृतिक विपत्तिले सिर्जित संकटका बीच पीडित नागरिकको तत्काल सहयोगका लागि संस्थाले सो रकम हस्तान्तरण गरेको हो।

योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णको प्रेरणामा सञ्चालित अभियानअन्तर्गत प्रभावित क्षेत्रका एक दर्जनभन्दा बढी स्थानमा निःशुल्क भोजनका लागि निरन्तर भण्डारा सञ्चालन भइरहेको पतञ्जलि आयुर्वेद केन्द्रका निर्देशक डा. पवमान सुवेदीले जानकारी दिए । उद्धारको पर्खाइमा रहेका र खाद्यान्न सङ्कट झेलिरहेका स्थानीयलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान अघि बढाइएको निर्देशक डा. सुवेदीको भनाइ छ।

विपद्को यो कठिन घडीमा पीडित नागरिकको घाउमा मलम लगाउनु सामाजिक दायित्व मात्र नभई सर्वोपरि मानवीय कर्तव्य भएको पतञ्जलि नेपालको ठहर छ। प्रभावित क्षेत्रमा राहत सामग्रीयुक्त भोजन र सहायता अभियानलाई थप केही समय निरन्तरता दिने प्रतिबद्धतासमेत पतञ्जलिले व्यक्त गरेको छ।

देश प्राकृतिक विपत्तिको गम्भीर मोडबाट गुज्रिरहेका बेला सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकबीचको एकीकृत सहकार्यबाट मात्र प्रभावकारी राहत र दिगो पुनःस्थापना सम्भव हुने धारणा पतञ्जलि नेपालको छ।