रौतहट-२ का पूर्वसांसद किरण साहका बुबा मृत फेला


रौतहट । रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा मृत फेला परेका छन् ।

राजपुर नगरपालिका–५ निवासी ८८ वर्षीय हजारी साह तेली बुधबार बिहान आफ्नै घरमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाबारे बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय राजपुरमा जानकारी प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको थियो ।

साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।